काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग(एनपीएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् ।
काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ । उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे ।
साथै रोहितले काठमाडौंले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए । तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ । रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भए पनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे ।
काठमाडौंका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ । काठमाडौंका लागि किफायती बलिङसँगै विकेट लिएका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा जित सम्भव भएको बताए ।
सामान्य लक्ष्य दिए पनि यो रक्षा गर्न सकिन्छ भन्ने काठमाडौंले विश्वास लिएको दीपेशले उल्लेख गरेका छन् । सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो लक्ष्य पनि सकेसम्म डट बल फ्याँक्ने रहेको बताए । आगामी हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्य रहेको उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया