त्यो घटनापछि चुलियो वान लेग्ड डान्सर अञ्जनाको आत्मविश्वास ! (भिडियोसहित )

‘दयाको नजरले हेर्दा औधी मन दुख्छ’

appharu
0
Shares

संघर्षका ठूल्ठूला पहाड उक्लिन बलिया खुट्टा होइन बलियो आत्मविश्वास चाहिन्छ भनेर अञ्जना गुरुङले सावित गरेकी छिन् ।

जन्मिएको केही महिनामै एक दुर्घटनामा आफ्नो एक खुट्टा गुमाएकी उनले त्यसपछिको जीवन यात्रा आफ्नो एक खुट्टाले नै तय गरिन् ।

यस यात्रामा अनेक आरोह र अवरोहहरु आए जसलाई अञ्जनाले निसन्देह आफ्नो पैतालामुनि कुल्चिएर अघि बढिन् र मनलाई पछ्याउँदै जाँदा ‘वान लेग्ड डान्सर’का रुपमा आफ्नो परिचय बनाउन सफल भइन् ।


पोखराको काखमा जन्मिएर हुर्किएकी अञ्जनालाई सामान्य रुपमा हिँडडुल गर्न त्यति समस्या थिएन । बरु अरुले अचम्म मान्दै हेर्दा, कठै भन्दा नरमाइलो लाग्थ्यो । पछि नरमाइलो पनि लाग्न छाड्यो । एउटा खुट्टा हुनुलाई कमजोरी भन्दा पनि शक्तिका रुपमा लिन सिकेपछि अरुले भनेका कुराले खासै फरक पार्न छोडे अञ्जनालाई ।


नृत्यले अञ्जनालाई थप शक्ति दियो । कक्षा ६ मा हुँदा पहिलोपटक स्टेज टेकेका उनका पैताला त्यसपछि कहिल्यै स्टेजबाट उत्रिनै मानेनन् । स्कुलको कार्यक्रममा साथीभाइ तथा शिक्षकको प्रेरणाले नाचेकी अञ्जनाले त्यसै दिन आफ्नो जीवनको उद्देश्य पहिल्याइन् । ‘म नाच्नकै लागि जन्मिएको हुँ’ भन्ने कुरा उनलाई त्यही दिन अनुभूति भयो ।

अरुलाई हेर्दै आफूमा कमी भएको महसुस गर्ने र मन दुखाउने अञ्जनाले जबदेखि नाच्न थालिन् तबदेखि आफूलाई आत्मविश्वासी भएको पाइन् ।

आमाबाबाको शिर गर्वले उच्च भएको पाइन् । केही गर्न सक्दिन होला भन्ने गुनासो लिएर बााचिरहेकी अञ्जना एकाएक केही गर्न जुर्मुराइन् ।
डान्सर अञ्जनालाई गाउन पनि उत्तिकै मनपर्छ ।

विभिन्न देशका मञ्चमा नाचेर, गाएर उनले मानसम्मान कमाइसकेकी छिन् । स्टेजमा प्रस्तुति दिँदै गर्दा दर्शकका आँखाहरु नियाल्छिन् उनी ।


कुनैमा आँसु देख्छिन्, कुनैमा छुट्टै चमक पाउँछिन्, कुनैमा ओहो भन्ने किसिमको भाव नाचिरहेको देख्छिन् । यी सबै दृश्य आफ्नो मिहिनेत र हार नमान्ने बानीको उपलब्धि हो भन्ने लाग्छ उनलाई ।

शारीरिक रुपमा स्वस्थ्य, तन्दुरुस्त भए तापनि सडकछेउमा माग्न बस्ने व्यक्तिहरुका लागि अञ्जना उपयुक्त उदाहरण हुन् ।

सबैकुरा हुँदाहुँदै पनि कर्म गर्न अल्छी मान्नेका लागि पनि उनको जीवन र साहस निकै प्रेरणादायी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?