‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

appharu
0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएका उनले बताएका छन् ।

उक्त अभियानमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, समन्वय उपप्रमुख धनबहादुर बोहरा, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा लगायतको उपस्थिति थियो ।

प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

बिरुवाको महत्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?