‘धर्तीमाता’माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप

काठमाडौं । ‘धर्ती माता’ हुँ भन्दै महिलामाथि दुर्व्यवहार गर्ने विष्णु कुँवरलाई महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ ।

कुँवरलाई काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।

उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो ।

काठमाडौं प्रहरीको मुद्दा शाखाका एक अनुसन्धान अधिकृतका अनुसार पीडितले किटानी जाहेरी दिएको भए मुलुकी अपराध संहितामा भएको व्यवस्था बोक्सी आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा मुद्दा चल्न सक्थ्यो । जुन अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्थ्यो ।

तर, भिडियोमा देखिएकी पीडित महिला नभेटिएपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अभद्र व्यवहारको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?