नयाँ सरकार कहिले ?

काठमाडौँ, १३ मङ्सिर- संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन कम्तीमा तीन साता लाग्नेछ । १० पुससम्म अन्तिम नतिजा आएमा मध्य माघमा देशले नयाँ सरकार पाउनेछ संविधानमा प्रतिनिधिसभामा कुनै एक दलले बहुमत प्राप्त गरे सो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छन् । त्यस्तै, कुनै पनि दलको बहुमत नआएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने नेता प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छ संविधानको धारा ७६ को उपधारा (९)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ’ भन्ने उल्लेख छ । संविधानमा राष्ट्रिय सभाका सदस्यलाई पनि मन्त्री बनाउन सकिने व्यवस्था छ । तर, १५ माघभित्र राष्ट्रिय सभा गठन हुने सम्भावना छैन । राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमा छ, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?