कपिलवस्तु, १६ मंसिर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थी सरकारको भारत र चीनसँग सन्तुलित र सुदृढ सम्बन्ध रहने बताउनु भएको छ“कम्युनिष्टहरुले जिते अधिनायकवाद आउँछ, नाकामा शिलबन्दी हुन्छ जस्ता भ्रम छरिएको रहेछ” शुक्रबार दिउँसो कपिलवस्तु निर्वाचन क्षेत्र नं।(१ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “मेरो केही दिन अघि मात्र भारतीय प्रधानमन्त्रीसँग कुरा भएको थियो। भारतीय जनता र भारत सरकार पनि नेपालमा शान्तिपूर्ण निर्वाचनमार्फत् राजनीतिक अस्थिरता र विकास होस् भन्ने चाहन्छन्। चीन पनि त्यही चाहन्छ। हाम्रो छिमेकीहरुसँग सन्तुलित सम्बन्ध छ, सुदृढ सम्बन्ध छ। चुनावपछि बामपन्थी सरकार बन्छ, बामपन्थी सरकारको चीन र भारतसँग मैत्रीपूर्ण र सुदृढ सम्बन्ध रहन्छ। जनतालाई अनावश्यक आतङ्कित बनाएर चुनाव जित्ने सपना कसैले नदेख्दा हुुन्छ।”“नेपाल ७० वर्षदेखि राजनीतिक अस्थिरताको भूमरिमा पर्दै आयो। २०४६ सालको आन्दोलनपछि सरकारहरु बने। तर, कुनै पनि सरकार पाँच वर्ष टिकेनन्। गणतन्त्रपछि त स्थिरता आउला भनेको त्यो पनि हुन सकेन” प्रचण्डले भन्नुभयो, “संविधान निर्माणपछि स्थिरता होला भन्ने हाम्रो अपेक्षा पनि पूरा हुन सकेन। तीन वर्षमा तीन सरकार फेरिने बिडम्बना देशले भोगिरह्यो। अब हामी यो स्थिति उल्टाउन चाहन्छौं। राजनीतिक स्थिरता र बहुमतको सरकारले मात्र विकास र समृद्धिको ढोका खोल्न सक्छ। हामीले चाहेको बहुमतको सरकार हो, अधिनायकवाद होइन।”शुक्रबार नै अध्यक्ष प्रचण्डले उपत्यकाका २ स्थानमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुभयो। काठमाडौंको पेप्सिकोलामा आयोजित सभामा अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा शान्ति प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न कमरेड माधव नेपालको महत्वपूर्ण हात छ। शान्ति सम्झौतालाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने नेताको विजयले समृद्धिको यात्रा सफल पार्न पनि महत्वपूर्ण योगदान मिल्ने मेरो विश्वास छ।”“ललितपुर नेपालको सांस्कृतिक राजधानी बन्न सम्भव छ” ललितपुरमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, “कमरेड पम्फा भुसाल नेपालको राजनीतिमा क्रियाशील महिला नेताहरुमा स्थापित नाम हो। उहाँको विजय प्रतीकात्मक अर्थमा न्याय, स्वतन्त्रता र समानताको आवाज बोक्ने आम महिलाहरुको विजय हो।”देशभरिको चुनावी अभियानको अवस्था बुझ्न र विभिन्न क्षेत्रमा आयोजित सभाहरुलाई सम्बोधन गर्न बिहीबार काठमाडौं आउनु भएका अध्यक्ष प्रचण्ड शुक्रबार कपिलवस्तुको सभालाई सम्बोधन गरि चितवन फर्कनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया