पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’ भिडियो सार्वजनिक

काठमाडौं,  १८ मंसिर । डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा दर्जनौँ गीतका सर्जक पन्त आज नेपाली भूमिबाट धेरै टाढा छन् । तर एकपछि अर्को गर्दै गीत तथा सङ्गीतमार्फत उनी हामीमाझ निरन्तर उपस्थित छन् । अमेरिकामा बसेर नेपाली पाखा, पखेराको सपना देख्ने पन्तले पैसाका लागि लेख्दैनन् । उनको स्वदेशप्रतिको माया देखावटी छैन । उनले अमेरिकाको मेरिल्याण्डमा बसेर धौलागिरिको सेतो हिमालले पाखा पखेरामा प्रकाश छरेको, माछापुछ«ेले फेवातालमा डबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको, रोधी घरमा मौलिक नेपाली लोक भाका घन्काएको सपना देख्छन् । नेपाली खोलानाला, पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने सर्जक पन्तले हालै आफ्नो नयाँ गीत ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’ भन्ने बोलको गीत लोकसंगीतप्रेमी हामी सबैमाझ पस्किएका छन् । https://youtu.be/X4KZ1KbslRU लोकगायक वसन्त थापा र विष्णु माझीको स्वरमा ल्याइएको उक्त गीतको भिडियोसमेत गायक थापाको यू ट्युबबाट सार्वजनिक भएको छ । अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको यस लोकभाकामा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको उत्कृष्ट अभिनय रहेको उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करण चैसिरले सम्पादन तथा विष्णु शर्माले छायाङ्कन गरेका छन् । नेपाली पाराको माया साट्न युवायुवती दोबाटोमा घण्टौँ कुरेर भेटमा एक शब्द साट्न नसकी लजालु आँखाले साइनो कसेको उनले अमेरिकी शहरमा मजदुरी गर्दा वा हिँड्दै गर्दा शब्दमा बुन्छन् र नेपालप्रतिको अथाह माया प्रकट गर्छन् आफ्ना सिर्जनामार्फत । आशा गरौँ उनको यो पछिल्लो प्रयासले पनि शिखर चुम्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?