जनताले कम्युनिष्ट नरोज्ने कमल थापाको तर्क

हेटौँडा, १८ मंसिर – उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले २१औँ शताब्दीका नेपाली जनताले प्रजातन्त्रवादीलाई छाडेर कम्युनिष्ट नरोज्ने बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अवसरमा मकवानपुर जिल्लामा आज आयोजित अन्तिम चुनावी पदयात्रापछिको सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाले आगामी चुनावमा लोकतान्त्रिक गठबन्धनले अत्यधिक बहुमतले विजयी भएर आगामी सरकार लोेकतान्त्रिक सरकार बन्ने जिकिर गर्नुभयो । लोकतान्त्रिक गठबन्धन कसैको विरुद्धमा नभई अधिनायकवादी शासन र साम्यवादी विचारको विरुद्ध भएको बताउँदै उहाँले गठबन्धनले देशको समृद्धि र विकास ल्याई हिमाल पहाड र तराईका जनताबीच सेतुको काम गर्ने छ भन्नुभयो । सो अवसरमा प्रदेश नं १ कका उमेदवार अशोक शाक्य, समानुपातिक उम्मेदवार दीपक सिंहलगायतले पनि मन्तव्य व्यक्त गर्नुभयो । लोकतान्त्रिक गठबन्धनले आज हेलिकप्टरको प्रयोग गर्दै चुनावीसभामा भाग लिएको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार थापा र प्रदेशसभा क्षेत्र नं २ (ख) का उम्मेदवार इन्द्र बानियाँले आज धेरै स्थानको चुनावीसभा भ्याउनुपर्ने भएकाले हेलिकप्टरको प्रयोग गरेको बताइएको छ । हेटौँडाको चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले आफूले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर हेटौँडाको सडकलाई २५ मिटरबाट १६ मिटरमा झारेकाले करोडौँको सम्पत्ति जोगिएको छ भन्नुभयो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?