बैतडीको सतबाँझमा वाटर टेबल टेस्ट

काठमाडौं । बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रमा वाटर टेबल टेस्ट गरिएको छ । 

वाटर टेवल टेस्ट गर्दा उक्त क्षेत्रमा पानी निस्किने देखिएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।

छ लाख ७५ हजार खर्च गरेर गरिएको उक्त टेस्टमा पानी निस्किने भएपछि आगामी आर्थिक वर्षदेखि उक्त क्षेत्रमा बोरिङबाट पानी निकालिने उनले बताए । 

बोरिङबाट पानी निकाल्नका लागि करीब ७० लाख लाग्ने अनुमान गरिएको छ । २२५ फिट गहिराइबाट बोरिङ गरी पानी निकालिन लागिएको हो ।

सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ । त्यहाँ रहेका १४ पोखरीसमेत हाल पानी नहुँदा सुक्दै गएका छन् । आकाशे पानीको भरमा रहेका ती पोखरी सुक्दै गएका हुन् । पोखरी सुक्दै जाँदा हाल तरकारी उत्पादनमा पनि कमी आएको छ ।

विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ देखि सुक्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । 

सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छाडेपछि स्याउ फल्न पनि छाडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो ।

 सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?