जरङ्खुपुलमा बिहानै सवारी दुर्घटना, दुईको अवस्था गम्भिर

काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं ८ जरङ्खुमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् ।

बिहिबार बिहान काभ्रेस्थली रत्नपार्क रुटमा चल्ने २३ नं रुटको बा ४ ख ९६७० नम्बरको बसले सोही दिशाबाट आउँदै गएको बा ८२ प ४५ ९३ नम्बरको मोटरसाईकललाई जरङ्खु  पुलमा ठक्कर दिँदा मोटरसाईकलमा सवार  दुई जना गम्भिर घाईते भएका हुन् ।

घाईते हुनेमा काठमाडौँको मनमैजु बस्ने वर्ष १७ का सुजन बञ्जारा र जरङ्खु बस्ने वर्ष २३ का रामप्रसाद ठाकुर घाईते भएका छन् ।

बसले ठक्कर दिएलगत्तै उनीहरुलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएकोमा अहिले ग्राण्डिसिटी अस्पताल रिफर गरिएको छ ।

महानगरिय प्रहरी वृत बालाजु काठमाडौँले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि स्थानीयले बसमा तोडफोड गरेका थिए । स्थानीयको ढुंगामुडाबाट बसको सिसा पूर्ण रुपमा क्षति पुगेको छ । स्थानीयले २३ नम्बर रुटको बसले  प्रतिष्पर्धा गरेर स्थानीयको ज्यान लिएको भन्दै  २३ नं को रुटखारेजीको माग गर्दै नाराबाजी समेत गरेका छन् ।

तारकेश्वर नगरपालिका क्षेत्रमा एकल रुपमा सञ्चालन हुदै आएको २३ नं रुटको सार्वजनिक बसले धेरै मानिसको ज्यान लिईसकेको छ ।  

स्थानीयको ढुंगामुडाबाट घटनास्थलमा रहेका प्रहरी जवान विक्रम थापा घाइते भएका छन् । अहिले उनको अवस्था  सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?