काठमाडौं । काठमाडौको जडीबुटीमा दिनदहाडै चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटी रहेका छन् ।
बिहीबार दिउँसो १२ बजे दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार भएको थियो ।
उनीलाई महानगरीय प्रहरी विभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो ।
मोबाइलको विषयलाई लिएर विवाद हुँदा उनीहरुले बुढाथोकीलाई चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको कोटेश्वरकी प्रमुख इन्सपेक्टर एलिजा गिरीले बताइन्।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको पेटको आन्द्रा समेत काटिएको प्रहरीले जनाएको छ । घटनालगत्तै बुढाथोकीलाई सहयात्री अस्पतालमा सामान्य उपचारपछि वीर अस्पतालमा रिफर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया