९० घण्टा २ मिनेट बोलेर विश्व कीर्तमानी राखेका अनन्त भन्छन्, ‘१ सय २० घण्टा बोल्न सक्छु’

काठमाडौं । आफ्नो कला देखाएर विश्व कीर्तिमानी राख्ने नेपालीहरुको सूचीमा पर्छन् अनन्तराम सुवेदी पनि । उनले ९० घण्टा २ मिनेट लगातार बोलेर विश्व कीर्तिमानी कायम गरेका छन् ।

बोल्नु विश्व कीर्तिमानी राख्ने माध्यम मात्र नभएर उनको रुचि हो, कला हो अनि सपना पनि । अनन्तले जीवनमा यदि केही कुरा मनदेखि नै चाहेका छन् भने त्यो हो बोल्ने र आफ्नो बोलीले मानिसको जीवनमा प्रभाव पार्ने । 

मार्टिन लुथर किङ, नेल्सन मन्डेलाजस्ता प्रखर वक्ताहरुले मञ्चमा बोलेको भिडियो हेर्दा अनन्तको मन पनि जुर्मुराउँथ्यो । सानैदेखि मासको अगाडि बोल्न मनपराउने उनले एउटै सपना देखेका थिए ‘कुशल वक्ता’ बन्ने ।

बोल्नु पनि नाच्नु, गाउनु जस्तै एउटा कला हो भन्ने बुझेका अनन्तले कीर्तिमानी कायम गर्ने योजना बनेपछि त्यस कलालाई तिखार्न अभ्यासको सहारा लिए । भिडियो हेरेर होस्, जानेकाबुझेका मान्छेलाई सोधेर होस् या आफै कलात्मक तरिकाले बोल्ने प्रयास गरेर उनले आफ्नो सपनालाई मलजल हालेर हुर्काउन थालिसकेका थिए । अन्तत अनन्तको सपनाले झाँगिएर मीठो फल पनि दियो । अहिले उनी विश्व कीर्तिमानी मात्र नभएर मोटिभेस्नल स्पीकरका रुपमा पनि परिचित छन्, जीवनोपयोगी तालिम दिन्छन् र काउनिसलिङ समेत गर्छन् ।

बोल्नलाई धेरै कुरा जान्नुपर्छ र जान्नलाई धेरै कुरा पढ्नुपर्छ भन्ने अनन्त जतिसक्दो धेरै समय अध्ययनमा बिताउँछन् । जीवनमा हार खाएका, निराश व्यक्तिहरुको आत्मबल बढाउने प्रेरणा दिन्छन् र कुशल वक्ता बन्ने सपना आँखामा सजाएर आउनेलाई प्रशिक्षण दिन्छन् ।   

एक अध्ययनले देखाएअनसार संसारका ७५ प्रतिशत व्यक्तिलाई ग्लासोफोबिया छ अर्थात् स्टेजमा बोल्न डराउँछन् उनीहरु । तर, यही डरलाई आफ्नो क्षमता बनाएका अनन्तको जीवन साँच्चै प्रेरणादायी छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?