चिली कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं। साविक विजेता चिली कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको समूह चरणको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गर्दै चिलीले लगातार दोस्रो जित निकाली क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

चिलीले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । चिलीका लागि जोस फुइन्जालिडाले गोल गरे । 
उनले डिबक्स भित्र इक्वेडरका रक्षकले क्लियर गर्न नसकेको बलमा गोल गरेका थिए । इक्वेडरले २५औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । 

इक्वेडरका इनर भ्यालेन्सियाले पेनाल्टीको सदुपयोग गरे । चिलीका गाब्रियल आरियासले इक्वेडरका मेन्डेजलाई डिबक्सभित्र फल हानेर लडाएपछि इक्वेडरले पेनाल्टीको मौका पाएको थियो । 

त्यसपछि चिलीले ५१औं मिनेटमा दोस्रो गोल गरेको थियो । एलेक्सिस सान्चेजले गोल गर्दै चिलिलाई जित दिलाएका थिए । 

उनले चाल्स अरान्गिजको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । इक्वेडर ८९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । 

गाब्रियल एकिलियरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई हिर्काएपछि रेफ्रीले गाब्रियललाई रातो कार्ड दिएका थिए ।  

जितसँगै ६ अंक बनाएको चिली समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेका उरुग्वेको चार अंक छ । 

तेस्रो स्थानमा रहेको एसियाली टोली जापानको एक अंक छ । इक्वेडरले खाता खोल्न सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?