रेशम चौधरीको खुट्टाको नेल लगाइएको प्रति भट्टराईको यस्तो आपत्ति

काठमाडौं । रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । 

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा जेल जीवन भोगिरहेका चौधरी मेरुदण्डको समस्यापछि वीरमा उपचाररत छन् | 

उनलाई १४ किलोको नेल लगाइ अस्पताल राखिएको छ | सोहि घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् ।

चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?