अंचेल भ्याइ नभ्याइ छ कामरेडलाई

शरद पोख्रेल

कुनै दिन यस्ता थिए 
सम्पत्तिमा केही हँसिया र हथौडा थिए
बिहानसंगै निस्कन्थे र बेलुका संगसंगै फर्कन्थे
दुख सुख हेरेर

त्यही हँसियाले सिमल्नु हुन्थ्यो 
बाटै ढाक्ने गरी बढेका वनमाराका झाङहरू
त्यही हथौडाले फुटाउनु हुन्थ्यो 
गाउँमाथि सोझिएका अजङ्गका ढुङ्गाहरू
त्यही हँसियाले सल्काउनु हुन्थ्यो भोकको चुल्हो
त्यही हथौडाले टुक्राउनु हुन्थ्यो पसिनाको बगर

त्यही हँसियाले काट्नुभएथ्यो अनेकानेक वादका जरा
त्यही हथौडाले फोड्नुभएथ्यो अनेक तन्त्रका सालिक

अहो..!
अचेल जमाना फेरिएछ

ती हँसिया र हथौडालाई मासेर
नयाँ डोजर र टिप्पर बनाएदेखि भ्याइ नभ्याइ छ कामरेडलाई

गाउँबाट सहर जोड्नु छ
सहरबाट राजधानी छिराउनु छ
राजधानीबाट त्यही मोटरलाई बिदेशसम्मै पुर्याउनु छ
भ्याइ नभ्याइ छ अचेल।

सान्नानीले कान्लाभरि सुकाएको 
आगुमको खडेरी टार्ने जोहोका चानाहरू हुर्याउदै,
ठूल्कान्छीले आगनभरि फिँजेको
चाडलाई साँचेका बिस्कुनहरू धुल्याउँदै,
गाउँ पस्नु छ हरेक दिन
र जोड तोडले हल्लाउनुछ पुरै बस्ती।

ऊ बेला मुठी कसेर उकालो लाग्दा बनेका 
नांगा पैतालाका ती गल्लीबाट अचेल 
टिप्परका टिप्पर सपनाहरू अपहरणमा परिरहन्छन्।

ऊ बेला परेड खेलेका खोल्सा र बगरका छातीमा 
क्रसरका चुलीहरू नदीतिर बल्छी फालिरहन्छन्
भ्याइ नभ्याइ छ कामरेडलाई।

झुप्रोभित्र तर्सिरहेछन् योद्धाका नावालक शिशुहरू
झुप्रोबाहिर चलिरहेछन् कामरेडका नयाँ नयाँ ब्राण्डका
टिप्पर र डोजरहरू।

अचेल भ्याइ नभ्याइ छ कामरेडलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?