वर्षाले कर्णालीका किसानहरुमा खुसि छायो

काठमाडौं । लामो समयसम्म गर्मि खेपिरहेका तथा वर्षातको प्रतिक्षामा रहेका कर्णालीका किसानहरु पानी पर्दा खुसि भएका छन् ।

ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसानहरु एकाएक गएरातीबाट वर्षात् हुँदा खुशी भएका हुन् । गत वर्ष अधिकांस कर्णाली क्षेत्रमा किसानहरुले ब्याड राखि रोपाई गरिसकेका थिए । तर यस वर्ष भने पानी नपरी लामो खडेरी परेका कारण सिचाइको सुविधा नभएका क्षेत्रमा बयाडसमेत अझै राख्न पाएको छैनन् ।
आकाशे पानीको भर परेका सुर्खेतका किसानहरु रोपाइँका लागि ब्याड राख्ने तयारीमा जुटेका छन् । कर्णाली प्रदेशमै सुर्खेत बढी धान उत्पादन हुने जिल्ला हो । यस जिल्लामा ५४ हजार १ सय ५२ मेट्रिकटन धान उत्पादन हुने तथ्याङ्क रहेको छ ।

कर्णलीको हिमाली क्षेत्र जुम्लामा चैतबाटै धान रोप्न सुरु हुने हुनाले सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको छ । अन्य जिल्लामा रोपाइँ अझै शुरु हुनसकेको छैन । 

कृषि निर्देशनालयका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले बीउ राख्न पाएका छैनन् । खोलाका आसपास र सिचाइँ हुने जमीनमा मात्र रोपाइँ सम्पन्न भएका हुन् । 
    
कृषि निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख टेकबहादुर शाहीले केही उच्च पहाडी जिल्लाको तुलनामा सुर्खेतमा ढिला गरी वर्षा शुरु भएको बताए । “आकाशे पानीको भर पर्ने किसानले अब ब्याड राख्न शुरु गर्दैछन्न”, उनले भने, “गत वर्ष जेठ दोस्रो साता नै खेत जोतिसकेका थिए, यही समयमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।” यस वर्ष ढिला रोपाइँ शुरु हुँदा उत्पादनमा ह्रास आउन सक्ने शाहीकोे अनुमान छ । 

निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा सिँचाइयोग्य ६८ हजार ३३५ हेक्टरमध्ये २६ प्रतिशत मात्र खेतीयोग्य जमीन छ । खडेरीका कारण कर्णालीका ७ प्रतिशत किसानले मात्र बीउ राख्न पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?