९ सय ४० चालक कारवाही, तपाई पनि पर्नुहोला होशियार !

काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९ सय ४० सवारी चालकलाई कारवाही गरेको छ ।

महानगरीय  ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिएका छन् । “कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएका छौँ”, उनले भने । 

चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २ सय ३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?