पहिरोले अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं | पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

बिहान ८:०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३:०० बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

वर्षा नरोकिएका कारण झरेको सबै पहिरो पन्छाउन नसकिएकाले अहिले एकतर्फी भए पनि सवारीसाधन सञ्चालनमा आएका छन् ।

सडक खुलेपछि रोकिएर रहेका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

राजमार्ग अबरुद्ध भएपछि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?