काठमाडौँ– मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने विभागका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
विभागले शुक्रबारको जस्तो अविरलरुपमा भने वर्ष नहुने जानकारी दिएको छ । केही दिन सतर्कता अपनाउन भने आग्रह गरेको छ । अहिले देशका धेरैजसो स्थानमा मनसुनी वर्षा भने जारी रहेको अर्यालले जानकारी दिए ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने र मुलुकको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको विष्लेषण छ ।
राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने देशको पूर्व र मध्यक्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सोमबार पनि अवस्था उस्तैउस्तै रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया