पर्यटन विभागद्वारा क्यासिनोमा अनुगमन

appharu
0
Shares
तस्वीर: गुगल


काठमाडौं । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।

नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ ।

पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ ।

नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् । प्रत्येका आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले चार करोड र साना (मिनी) क्यासिनोले एक करोड वार्षिक राजश्व बुझाउनुपर्छ ।

त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले एक करोड र साना क्यासिनाले ५० लाख बुझाउनुपर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर पाँच लाख र सानाको दुई लाख लाग्ने विभागले जनाएको छ । विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले एक अर्ब २० करोड राजश्व असुल गरेको थियो ।

क्यासिनोबाट मात्रै ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?