काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
प्रतिनिधिसभाका सांसदद्धय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।
सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका रावलले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गर्नुभयो ।
सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि स्मरण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया