काठमाडौं । एनआइसी क्यापिटल लिमिटेडले स-साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ ।
एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत सर्वसाधारणलाई तथा १५ प्रतिशत एकाइ कोष प्रवद्र्धक एनआइसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआइसी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । प्रति एकाइ १० का दरले बिक्री गरिनेछ ।
आज आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले प्रचलित सामूहिक लगानी कोष नियमावलीले निर्दिष्ट गरेका क्षेत्रमा लगानी गरी आर्जन भएको मुनाफा सम्बन्धित एकाइ धनीलाई वितरण गरिने जानकारी दिनुभयो ।
सामूहिक लगानी कोष सञ्चालनमा आउँदा मुलुकमा पूँजी बजारको विकास विस्तारमा महत्वपूर्ण योगदान पुग्ने मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले बताउनुभयो ।
सर्वसाधारणबाट सङ्कलित रकम धितोपत्रको दोस्रो बजार तथा नियमावलीले तोकेका अन्य क्षेत्रमा लगानी गरी हरेक वर्ष एकाइ धनीलाई उच्च प्रतिफल उपलब्ध गराउने जनाइएको छ ।
उक्त संस्थाले गत आव २०७५-७६ मा करीब एक अर्बको एकाइ निष्कासन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया