गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

गएको सोमबार राति वर्षापछि आएको पहिरोका कारण सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन् ।

विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?