काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम, कारबाहीलाई अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष दाहालले पार्टी एकतालाई सदृढ बनाउन र सरकारको काम, कारबाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै उहाँले पार्टी संगठन र सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि दावी गर्नुभयो ।
अध्यक्ष दाहालले दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको काम कारबाहीबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पार्नुभयो । उहाँले सामाजिक न्यायसहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दावी पनि गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया