काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको हत्यारा पत्ता लगाउने सन्दर्भमा अध्ययन अनुसन्धान जारी रहेको बताउनुभएको छ ।
उहाँले डीएनए परीक्षण नमिल्दा दिलिप सिंह विष्टलाई दोषी किटान गर्न नसकिएको पनि प्रस्ट पार्नुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समिति सदस्य चन्द्र बहादुर खड्काले डिएनए परीक्षण बाहेक साविति बयान लगायत कारणले विष्ट नै दोषि देखिए पनि घटनाको दोषि पत्ता लगाउन किन अलमल भएको गर्नुृभएको प्रश्नमा यस्तो जवाफ दिनुभएको हो ।
समितिले सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा गृहमन्त्रीलाई छलफलमा बोलाएको थियो । गृहमन्त्रीको जवाफ पछि समिति सभापति राम नारायण विडारीले अनुसन्धानलाई प्रतिकुल असर नपर्ने गरि पन्त हत्याको घटना अध्ययन अनुसन्धानका सम्पुर्ण कागजात समितिमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
समितिले प्राधिकरण गठन, बाढी प्रभावितलाई राहत वितरणको अवस्था, छाउपडी प्रथा, पूर्व राजदूत केशव झाको हत्या लगायत १० वटा विषयमा गृहमन्त्री समक्ष जिज्ञासा राखेको थियो ।
सो क्रममा गृहमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
विपद्बाट सर्वसाधरणको जीउ ज्यान, नीजि तथा व्यक्तिगत सम्पत्ति, प्राकृति, सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली कार्यान्वयनमा रहेको पनि उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया