प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ ।

संसद्को अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।

नेत्रविक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागी मृत्यु भएको घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।

यसैबीच संघीय संसद भवनमा राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?