काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्ष भित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो ।
सबै स्थानीय तहमा ६ हजारभन्दा बढि आयोजना संचालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्ष भित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो ।
उहाँले बजेट कम भएपनि नेपालको ईतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको पनि बताउनुभयो ।
सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो । थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु संचालन गरि सरकारले सो कार्यक्रममार्फत गरिव समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाई छ ।
मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दावी पनि गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया