रोल्पाकै पहिलो महिला अधिवक्ता

काठमाडौं । रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बन्नुभएको छ । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बन्नुभएको हो ।

अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले चौथो स्थान हासिल गर्नुभयो । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक गर्ने १० उत्कृष्ट परीक्षार्थीको रुपमा उहाँ चौथो स्थान कायम गर्न सफल हुनुभएको हो ।

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गर्नुभएको थियो । नेपाल ल क्याम्पसबाट बिएएलएलबी उत्तीर्ण गर्दा उहाँ त्रिभुवन विश्व विद्यालयको दोस्रो ‘टपर’का रूपमा रहनुभएको थियो । उहाँले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

“जिल्लामा कानून पढ्नेको सङ्ख्या निकै कम छ । त्यसमा पनि महिलाको सङ्ख्या त झनै कम । अधिवक्ताको रूपमा कानून व्यवसाय गर्नेको सङ्ख्या जिल्लामा एक दर्जन बढी छैन । त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता झन शून्य छ”, अधिवक्ता जितविक्रम मल्लले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?