निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्विकृत गर्ने सहमति भएको हो ।

अस्पतालका चिकित्सकहरुले समेत सामूहिक राजीनामा दिने धम्कीसहित आफ्ना सेवा ठप्प पार्ने काम गरिराखेका थिए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका ती घटनालाई पनि ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने प्रावधान पारित गरिएको हो ।

विधेयकको दफा १२१ मा निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने प्रावधान राखिएको थियो । त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुबीच मत बाझिएको थियो । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो ।

तर मन्त्री पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतका साथ त्यस्ता गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले सो प्रावधान ल्याउनु परेको स्पष्टिकरण दिनुभयो । चिकित्सकहरुले समेत सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दवाव दिने काम गरेपछि सरकारले नियन्त्रणका लागि पनि कानुनी व्यवस्था गर्न बाध्य हुनु परेको पनि बताउनुभयो ।

यसैगरी सत्तारुढ दल नेकपाका सांसदहरु जनार्दन शर्मा, खगराज अधिकारी, झपटबहादुर रावलले पनि राज्य संयन्त्र संचालन गर्नेहरुको अराजकता र अनुशासनहिनताको अन्त्य गर्न पनि सो प्रावधान राख्न उपयुक्त हुने तर्क गर्नु भएको थियो ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका नेकपाका सांसद अधिकारीले चिकित्सकहरुले समेत आफ्ना अनुचित माग पूरा गराउन सामूहिक राजीनामा दिने धम्कीसहित अस्पतालको सेवा ठप्प पार्ने विगतका ती घटनालाई नियन्त्रण गर्न पनि सो प्रावधान आवश्यक रहेको तर्क गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?