काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता: महामन्त्री कोइराला

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।

“काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ”, महामन्त्री कोइरालाले भन्नुभयो, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।”

पार्टीभित्र रहेको गुट-उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उहाँले बताउनुभयो । “मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,” उहाँले भन्नुभयो, “तर पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।”

काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गर्नुभयो । उहाँले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराउनुभयो ।

“अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले मातृशोकमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गर्नुभएको छ ।

कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?