सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ |

काठमाडौं बसुन्धरा तथा ललितपुरबाट शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका(२ सपनातिर्थ) डेरा गरी बस्ने वुढानिलकण्ठ चपली ७ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम वंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन् ।

पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा।२९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको छ ।

उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी विक्री गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?