२० लाख पर्यटक भित्र्याउन लागि पर्यो सरकार, यस्ता छन् योजना

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य अघि सारेको छ । त्यसका लागि सरकार र पर्यटनसँग सम्बन्धि मन्त्रालय, बोर्ड विभाग र समग्र पर्यटक क्षेत्र लागीपरेका छन् ।

सन् २०१८ मा जम्मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएकोमा २ वर्षमा झण्डै दोब्बर पर्यटक ल्याउनु आफैमा चुनौती हो ।

त्यसका लागि सबैले आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि पर्यटनमन्त्री योगेश भट्टराईले आग्रह समेत गर्नुभएको छ ।

भट्टराईले त्रिभुवन विमानस्थलको स्तरोन्नती, भैहरवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालन र आन्तरिक विमानस्थलको सुधारका लागि आफू लागिपरेको बताउनुभएको छ ।

त्यस्तै, नेपाल वायू सेवा निगमको नेपाल एयरलाइन्सको उडानलाई जापानसँगै चीन, साउदी अरेबिया र दक्षिण कोरियासम्म पुर्याउने लक्ष्य समेत राखेका छन् ।

त्यस्तै, भिसा शुल्क, नयाँ ट्रेकिङ रुट खोल्ने र पर्यटकलाई आकर्षित गर्नका लागि समेत नयाँ योजना ल्याउनका लागि पर्यटन व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

यसैबीच पर्यटन बोर्डले २० लाख पर्यटक कसरी पुग्छन भन्नेबारेमा आँकडा निकालेको छ । जसमध्ये कुन देशबाट कति पर्यटक नेपाल ल्याउने भन्ने अनुमानित तथ्यांक तयार पारिएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले तयार पारेको अनुमानित आँकडामा सन् २०१९ मा १५ लाख पर्यटक पुर्याउने र सन् २०२० मा २० लाख पर्यटक कसरी पुर्याउन सकिन्छ भन्ने उल्लेख छ ।

आँकडामा एसिया, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका महादेशमध्येका कुन देशबाट कति ल्याउने भन्ने उल्लेख गरिएको छ । जसमा ४ वटा देशबाट मात्रै झण्डै साढे ९ लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ ।

जसमध्येमा चीन, भारत, श्रीलंका र अमेरिकालाई सबैभन्दा बढी पर्यटक आउने देशको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?