थानकोट नाका: लागुऔषध ओसारपसारको मुख्य केन्द्र

काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ ।

“थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउनुहुन्छ । “छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?