भारतको स्वतन्त्रता दिवस नेपालमा पनि मनाइयो

काठमाडौं । भारतको स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ ।

बिहिबार काठमाडौँमा रहेको भारतीय दुतावासले बिबिध कार्यक्रम गरि ७३ औं स्वतन्त्रता दिवस मनाएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गर्नुभयो ।

साथै राजदूत पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गर्नुभयो । भारत सरकारले ३ परिवार लाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।

यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?