काठमाडौं । बिहीबार देशभर जनैपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ । हिन्दू धर्मावलम्बीले हातमा रक्षाबन्धन तथा जनै फेरेर यो पर्व मनाएका छन् । जनैपूर्णिमा पर्वमा तराईमा चेलीले माइतीको हातमा राखी बाध्ने चलन छ भने काठमाडौं उपत्यका विभिन्न मन्दिरहरुमा रक्षाबन्धन गर्नेहरुको घुइँचो लागेको थियो । यस्तै, मुलुकका विभिन्न मन्दिरहरुमा पनि रक्षाबन्धन बाध्नेहरुको भीड लाग्यो ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफनो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेश र प्रदेश २ सरकारले जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया