उद्घाटन खेलमा नै नेपाल पराजित

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५–२३, २५–२२ र २५–२२ को सेटमा पराजित गरेको हो ।

जितसँगै समूह ’ए’ को किर्गिस्तानले २ अंक जोडेको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

हारसँगै नेपाललाई सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

यसैबीच, प्रतियोगिता अन्तर्गत नै समूह ’बी’ को पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । समूह ’बी’ अन्तर्गत नै आज बंगलादेशले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?