भारतीय विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । भारतका विदेशमन्त्री एस जय शंकर केही बेरअघि काठमाडौं आइपुग्नुभएको छ ।

उहाँ नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन आउनुभएको हो । उहाँ बंगलादेशको तीन दिने भ्रमण पूरा गरेर ढाकाबाट सीधै नेपाल आउनुभएको हो ।

उहाँलाई त्रिभुवन विमानस्थलमा नेपालका परराष्ट्र सचिव शंकर बैरागी र भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गर्नुभएको थियो । आजदेखि सुरु हुने बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुहुनेछ ।

बैठकले दुई देशका सम्बन्धका सबैजसो पक्षका बारेमा सम्बोधन गर्ने जनाइएको छ । जसमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, ऊर्जा र जलश्रोत , संस्कृति, शिक्षा र अन्य दुई पक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको जनाइएको छ ।

आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

उहाँ भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?