साहित्यिक पत्रकारितामा नयाँ आयाम

appharu
0
Shares

काठमाण्डौं । मौलिक पहिचान र बजारीकरणको लक्ष्यसहित पहिलो अङ्क नै ५१०१ प्रति प्रकाशित ‘शमी’ साहित्यिक मासिकले साहित्यिक पत्रकारितामा नयाँ आयाम सिर्जना गर्नसक्ने स्रष्टाहरुले जनाएका छन् ।

शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पत्रिकाले बुधबार लेखकहरुलाई एउटै थलोमा आमन्त्रण गरी पारिश्रमिक वितरणसहित पहिलो अङ्कको समीक्षा र आगामी अङ्कको मार्गचित्रबारे सुझाव लिएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी सय वर्ष प्रवेशका अवसरमा विशेष सामग्रीसहित प्रकाशित सो पत्रिका गत साउन २४ गते सार्वजनिक भएको थियो । पत्रिकाको प्रत्येक अङ्कमा क्रम सङ्ख्या राखिएको छ । पत्रिकाले न्यूनतम् रु ७०० देखि दुई हजार ५०० सम्म पारिश्रमिक वितरण गरेको छ, जुन समसामयिक साहित्यिक पत्रिकाले दिने पारिश्रमिकभन्दा बढी हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यिक पत्रकारिताका लागि आफूहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । समालोचक डा अभि सुवेदीले ‘शमी’ ले लिएको लक्ष्य पूरा भएमा साहित्यिक पत्रकारितामा नयाँ इतिहास रचिने बताउनुभयो ।

साहित्यकार डा विष्णुविभू घिमिरेले साहित्यिक पत्रकारिता जोखिमपूर्ण रहेका बेला ‘शमी’ को आँटलाई स्रष्टाहरुले भरथेग गर्नुपर्ने जनाउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले ‘शमी’ पत्रिकाका लागि प्राप्त सुझावबमोजिम अघि बढिने बताउनुभयो ।

पत्रिकाको आगामी अङ्कमा नयाँ नयाँ विधासहित ६१०० प्रति प्रकाशन गरिने प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । पत्रिकाले सातै प्रदेशमा संयोजक चयन गरी बजारीकरण शुरु गरेको छ । साहित्यकार एवं नेता दीनानाथ शर्मा, साहित्यिक पत्रकारहरु रोचक घिमिरे, चेतनाथ धमला, स्रष्टाहरु महेश पौडेल, सुशीला पौडेललगायतले साहित्यिक पत्रिकालाई राज्यले उपेक्षा गर्न नहुने भन्दै ‘शमी’ को निरन्तरताको कामना गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?