सूर्या लाइफको हकप्रद शेयर बिक्री आइतबारबाट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ८ गते आइतबारदेखि ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । २ अर्ब चुक्तापुँजी पुर्याउन कम्पनीले हकप्रदको सहारा लिएको हो । १० बराबर ७ को अनुपातमा कम्पनीले ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ । हकप्रद प्रयोजनका लागि साउन २९ गते बुक क्लोज भएको थियो । बुक क्लोजको आधारमा साउन २८ गतेसम्म कायम सदस्यहरुले यस हकप्रदमा असोज १२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ । कम्पनीले असार १० गते १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ । बोनस पश्चात १ अर्ब २६ करोड ७७ लाख २८ हजार चुक्ता पूँजी पुगेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद विक्री गर्न अनुमति मागेको हो । हकप्रद पश्चात रू. २ अर्ब १५ करोड ५१ लाख ३७ हजार पुग्नेछ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा २० करोड ८६ लाख १३ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो असार मसान्तसम्म रू. १२ करोड १२ लाख ६५ हजार थियो । कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ४६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?