काठमाण्डौंमा ‘चारदेशीय कला प्रदर्शनी’ शुरु, १७ गते सम्म चल्ने

appharu
0
Shares

काठमाण्डौं । काठमाण्डौंको नक्सालमा शनिबारदेखि चार देशका कलाकारको सहभागितामा ‘अन्तरराष्ट्रिय कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाण्डौंस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा शुरु भएको कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । उहाँले छ महीनादेखिको प्रयास सफल भएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्नसमेत कलाकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तरराष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने र नेपाल चिनाउन सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।

चित्रका गतिविधि धेरै भए पनि मूर्तिका गतिविधि हुन नसकेको भन्दै उहाँले मूर्तिकला प्रदर्शन गर्न कसैले इच्छा देखाए प्रतिष्ठानले सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले देशको धेरै कुरा कलाकृतिले बोल्ने भएकाले पहिचान दिन सजिलो हुने उल्लेख गर्नुभयो ।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रसमेत समावेश गरिएको छ ।
कार्यक्रममा जलरङको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै कलाकार बुद्धि गुरुङलाई सम्मान गरिएको थियो भने र वाटरकलर युथ अवार्डबाट कान्छाकाजी भासिमालाई पुरस्कृत गरिएको थियो । रासस

तस्विर गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?