जापान र अमेरिकाबीच भयो यस्तो व्यापार सम्झौता

एजेन्सी । जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को बैठक हुनुअघि दुई देशबीच व्यापार सम्झौतामा सहमति भएको हो ।
अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हाल्नुभएका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वार्तामा ठूलो प्रगति भएको जानकारी दिनुभयो । मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो । वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ ।

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको जनाइएको छ । साथै, जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?