ओली सरकारका ‘ढँटुवा’ सञ्चारमन्त्री !

विक्रम संवत २०७६ साल भदौ ९ गते सोमबार, दिउँसो करिब साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले फोटो सहितको एक ट्वीट गरे । उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले नेपालमा रहेका मन्त्रीहरुसँग ‘भिडियो च्याट’ गरिरहेको फोटो सहितको रिमालको ट्वीटमा लेखिएको थियो, ‘सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै’ । तर, उक्त भिडियो च्याट सामान्य च्याट नभएर नेपालको इतिहासमा पहिलोपटक बसेको ‘डिजिटल’ मन्त्रीपरिषद बैठकको च्याट थियो । जसलाई ‘भिडियो कन्फ्रेन्स्’ भनिएको थियो । डिजिटल युगको सुरुवात भन्दै सत्तारुढ दलका नेता तथा कार्यकर्तासँगै सरकारी अधिकारीहरुले सामाजिक सञ्जाल रङ्ग्याउन थाले ।

विष्णु रिमालले ट्वीट गरेको करिब आधा घण्टापछि प्रधानमन्त्री ओली स्वंय आफैले ट्वीट गर्दै लेखे, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फÞत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’

बैठक बसेको प्रधानमन्त्री र उनका सल्लाहकार रिमाल दुवै जनाले पुष्टि गरेका थिए । फरक विष्णु रिमालले उक्त च्याटलाई ‘टेलिकन्फ्रेन्स’ भनेका थिए भने प्रधानमन्त्रीले ‘टेलिप्रिजेन्स’ भनेका थिए ।

भिडियो कन्फ्रेन्स्बाट मन्त्रीपरिषद् बैठक बसेको भोलिपल्ट अर्थात भदौ १० गते सरकारी स्वामित्वमा रहेको गोरखापत्रले सानका साथ पहिलो पृष्ठमा नै प्रधानमन्त्री ओलीले प्रयोग गरेको शब्द ‘टेलिप्रिजेन्स’ लाई सापटी लिएर ‘भिडियो टेलिप्रिजेन्समार्फत मन्त्रीपरिषद् बैठक’ शीर्षक दिए फोटोसहितको समाचार छाप्यो ।

सायद सरकारले जनमानसबाट ‘हाई हाई’ को अपेक्षा गरेको थियो होला । प्रविधिको उच्चतम प्रयोग भयो भनेर जनता सरकारको पक्षमा उभिनेछन् भन्ने ठान्यो होला । यो कुरा सत्तापक्षहरुको प्रतिक्रियाबाट प्रष्ट हुन्छ । अझ विष्णु रिमाल, प्रधानमन्त्री स्वंय आफैंले उत्साहका साथ गरेको ट्वीटबाट झन् प्रष्ट हुन्छ ।

तर, भई के दियो भने सरकारको उक्त कदमको समर्थन भन्दा विरोधका आवाज बढी सुनिए । प्रतिपक्षको काम त विरोध गर्ने नै हो ग¥यो पनि तर सत्तारुढकै केही नेताले समेत सार्वभौमिकताको अपमान भएकोतर्फ संकेब गर्दै विरोध गरे । नेकपा नेता भीम रावलले त विदेशमा बसेर प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठक सञ्चालन गरेको आफूले विश्वको अन्य कुनै मुलुकमा नदेखेको बताए । प्रधानान्त्रीका प्रविधि सल्लाहकारले सुरक्षाको चुनौती नरहेको दाबी गरेपनि प्रविधि विज्ञहरुले भने ‘साइबर क्राइम’ हुन सक्ने भन्दै ‘भिडियो कन्फ्रेन्स्’ पूर्ण रुपमा सुरक्षित नरहेको बताए । समग्रमा भन्दा ‘भिडियो कन्फ्रेन्स्’मार्फत मन्त्रीपरिषदको बैठक बसेकोप्रति चौतर्फी आलोचना भयो ।

त्यसैले पनि होला ‘भिडियो कन्फ्रेन्स्’मार्फत मन्त्रीपरिषदको बैठक बसेको ठीक तीन दिनपछि अर्थात भदौ १२ गते बसेको सार्वभौम संसद बैठकलाई सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विष्णु रिमाल, प्रधानमन्त्री ओली, गोरखापत्रसहित ‘भिडियो कन्फ्रेन्स्’मार्फत ऐतिहासिक मन्त्रीपरिषद बैठक बस्यो भनेर जानकारी दिने सबैलाई ‘उल्लु’ बनाईदिए । झुटको खेति गर्ने क्रममा सार्वभौम संसदको अपमान गरे । उनले बैठक नबसेको दाबी गरे । ‘भिडियो कन्फ्रेन्स्’मा प्रधानमन्त्रीले नमस्कार गरेको र आफूहरुले नमस्कार फर्काएर स्वास्थ्य अवस्था बुझेको अनि बैठक सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?