आज हरितालिका तिज, व्रत बसे मनोकामना पुरा हुने विश्वास

appharu
0
Shares

काठमाण्डौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व सोमबार भग्वान महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको भएपनि पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरुलाई समस्या सुनाउनु भएको थियो ।

पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय विश्वासछ ।

तिजको व्रत निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई तिजको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?