ब्याजमा पैसा दिएर सर्वसाधारण ठग्ने ‘परदेशी’ पक्राउ

काठमाडौं । सर्लाहीका स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’ पक्राउ परेका छन् । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

प्रदेश २ प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले शाहलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले आइतबार साँझ शाहलाई पक्राउ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ |

महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।

सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

काठमाडौं काठमाडौं आएका अधिकांशलाई शाहले चर्को व्याजमा ऋण प्रवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?