कास्की । बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व रवीन्द्र स्मृति भलिबल प्रतियोगिताको उपाधि मातृभूमी युवा क्लब सिंगारेवासले जितेको छ ।
प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा सङ्गम समूह, बागमारा र सिर्जनशिल युवा क्लब भर्तिपोखरा समूहले हासिल गरेका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय समूहलाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले क्रमश : रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै तीज गीत प्रतियोगितातर्फ लक्ष्मी मावि समूह प्रथम, पोखरा आमा समूह द्वितीय र अनुशासित आमा समूह तृतीय बनेका छन् । उत्कृष्ट नृत्यतर्फ बाघमारा युवा सङ्गम समूह विजयी भएको छ ।
त्यस्तै खुला तीज गीत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजारसहित प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य गर्ने समूहलाई रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा अर्थ तथा विकास समितिका सभापति कोइरालाले नेपाली समाजको समाजिक तथा आर्थिक रुपान्तरणमा स्व अधिकारीको योगदानको स्मरण गर्नुभयो ।
बाघमारा युवा सङ्गम समूहका अध्यक्ष महेश अर्यालले युवा राष्ट्रको महत्वपूर्ण शक्ति भएको बताउँदै राज्यले युवा शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने किसिमको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया