सरकारको विरोधमा मात्रै नलाग्न संचारमन्त्री बास्कोटाको आग्रह

काठमाडाैं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पुर्याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पार्नु भयो । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराउनु भयो ।

उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताउनु भयो । मन्त्री बास्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाउनु भयो ।

मन्त्री बास्कोटाले कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?