काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले पार्टीको योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको भन्दै नयाँ जिम्मेवारी सफलतासाथ बहन गर्न शुभकामनासमेत दिनुभएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।
यसअघि स्कुल विभागको प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । एमाले प्रचार विभाग प्रमुख भट्टराई र माओवादी केन्द्रका प्रचार प्रमुख भुसालले आफूहरुले प्रचार विभागमा रहँदा गरेका कामका बारेमा अनुभव सुनाउँदै नवगठित प्रचार विभागले पार्टीका गतिविधिलाई तीव्र बनाउनुपर्ने बताउनुभयो ।
प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताउनुभयो । उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै चाँडै नै विभागलाई पूर्णता दिइने जानकारी दिनुभयो । विभाग ३५ सदस्यीय रहने छ ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, रघुजी पन्त, प्रेस सङ्गठन नेपालका इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतलगायतले आ–आफ्ना सुझाव र शुभकामना दिनुभएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया