काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
आज नेकपाको विदेश मामिला विभागको हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता केही ढिला भए पनि अब बस्ने बैठकले पार्टी एकतालाई सम्पन्न गर्ने बताउनुभयो । सो अवसरमा तत्कालीन नेकपा(माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेकपाका विदेश मामिला प्रमुख माधवकुमार नेपाललाई पद हस्तान्तरण गर्नुभयो ।
पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उहाँले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताउनुभयो ।
“पार्टी एकता सकाएर पार्टीका नीति, योजना, कार्यक्रम विचार प्रशिक्षण अभियानको रुपमा चलाउने छौँ”, उहाँले भन्नुभयो, “कस्ता कस्ता जटिल र अप्ठारा परिस्थितिलाई चिरेर यहाँसम्म पु¥याएका छाँै । एकताबद्ध भएर अभियानमा गयौँ भने अबको परिस्थिति सामान्य नै हुन्छ । एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्ने छौँ ।” उहाँले कसैको दया नभई थुप्रै चुनौतीलाई पार गरेर अहिलेको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो ।
“पार्टी एकता भएपछि जुन तदारुकता र तीव्रताका साथ तीन महीनाभित्र सकेर तुरुन्तै जनताको बीचमा जाने कमिटीको बैठक गर्ने, स्थानीयदेखि प्रादेशिक तह, सङ्घीय सरकारसम्मलाई निर्देशित गर्ने सरकारलाई प्रभावकारी बनाउनुपर्ने, गल्ती भयो भने त्यसलाई खबरदारी गर्नुपर्ने थियो । हामीले त्यसो गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “त्यो थोरै हाम्रो कमीकमजोरीलेले प्रतिक्रियावादीले अतिरञ्जीत ढङ्गले प्रचार गर्ने र प्रतिक्रियावादीले टाउको उठाउने जमर्को गरेको हामीले देख्ने सुन्ने गरेको छौँ ।”
उहाँले अहिले कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहनेहरुले सानोतिनो कमजोरीमात्र भेटियो भने त्यसलाई तिललाई पहाड बनाएर कम्युनिष्टलाई पार्टी र नेतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टको सरकार गठन गरे पनि निकै अवसर र चुनौतीको रहेको भन्दै ती चुनौतीलाई पार गरेर लैजानुपर्ने पर्ने बताउनुभयो । उहाँले जनताका अपेक्षाअनुसार काम गर्न नसके चुनौती आउने बताउनुभयो ।
“अब जनताको अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार हामीले सेवा प्रवाह गर्न सकेनाँै, परिणाम दिन सकेनाँै, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न र जनभावनाअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकेनाँै । कम्युनिष्ट पार्टीको नेतृत्व हुनुको नाताले सामाजिक न्याय र समाजवाद चरित्रतिर जाँदैछौँ भन्ने विश्वास जनतालाई दिन सकेनौँ भने यो आफैँमा एउटा ठूलो चुनौती बनेर आउने स्थिति छ”, उहाँले भन्नुभयो ।
जनताका वर्ग सङ्घर्ष, विभिन्न सामाजिक न्यायको मुद्दाको सङ्घर्षमा लागेर तानाशाही, निरङ्कुशतन्त्र, समान्तवादको लडाइँमा हामीले विजय हासिल नगरेको भए अहिलेको परिस्थिति नबन्ने उहाँले बताउनुभयो । उहाँले निकै लामो बहस त्याग बलिदान, आन्दोलन र सङ्घर्षको बीचबाट खारिएका नेताको कारणले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन सफल भएकोसमेत बताउनुभयो ।
नेपाल कम्युनिष्ट आन्दोलन र अन्तरराष्ट्रिय मामिलाको धेरै अनुभव हालिस गरेका नेता नेपाल विभागको प्रमुख रहेकाले पार्टी र देशको अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र सुदृढ भएको आफूले विश्वास गरेको बताउनुभयो ।
कार्यक्रममा विभागका प्रमुख नेपालले विभागले पार्टी र देशको अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ गरी राष्ट्रिय हितमा काम गर्ने बताउनुभयो । उहाँले स्वाभिमान जोगाउँदै छिमेकीसँगको सम्बन्ध राम्रो बनाई कसरी अघि बढ्दा नेपाल र नेपाली जनताको हितमा काम गर्न सकिन्छ भन्ने आफूहरु लाग्ने बताउनुभयो ।
“एकातिर कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गर्नु छ । कतिपय पार्टीसँग मित्रतापूर्ण सम्बन्ध बनाउनुपर्ने छ र कतिपयसँग औपचारिक सम्बन्ध राखेर चल्नुपर्दछ”, उहाँले भन्नुभयो, “पार्टी देशको आर्थिक विकासमा सहयोग सम्बन्ध विस्तार गर्न अन्तरराष्ट्रिय मञ्चमा उपस्थिति हुने छौँ ।” उहाँले मुलुकले अङ्गालेको परराष्ट्र नीतिअनुसार पार्टीका गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।
नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट स्वदेश फर्केपछि पार्टीका एकताका बाँकी काम टुङ्ग्याउने बताउनुभयो । उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनताको रक्षा गर्नका कूटनीतिक पहल पहिलो भएको भन्दै राष्ट्रिय रक्षा गर्न पार्टीलाई विदेश नीतिमा पृष्ठपोषणको काम विभागले गर्ने बताउनुभयो । सोही अवसरमा विभागका उपप्रमुख राम कार्की र विष्णु रिजालले पार्टीको नीति, योजनालाई अन्तरराष्ट्रियस्तरमा पु¥याई सम्बन्धलाई राम्रो बनाउने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया