हिरासतहरुको स्थलगत अनुगमन गर्दै संसदीय समिति

काठमाडौं । संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने÷नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने निर्णय गरेको हो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले एनसेलको कर असुलीसम्बन्धि सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउँदै सो समितिमा तत्काल छलफल हुनुपर्ने माग गरेपछि सभापति कृष्णभक्त पोखरेलले संविधानविद्हरुसँग छलफल गर्ने सहमति जनाउनु भएको हो । केही दिन भित्रै सो सम्बन्धमा वरिष्ठ संविधानविद्हरुसँग छलफल गरेर आवश्यक राय लिने निर्णय गरिएको समितिका सभापति पोखरेलले बताउनु भयो ।

समितिले हिरासतहरुको अवस्था बुझ्न स्थलगत अध्ययन गर्ने निर्णय पनि गरेको छ । समितिका सभापति पोखरेलले हिरासत र जेलका बन्दीहरुको अवस्था दयनीय रहेको तथ्य बाहिर आएकाले त्यसको अवस्था बुझ्न समितिले स्थलगत अध्ययन गर्ने निर्णय गरेको पनि स्पष्ट पार्नु भयो । त्यसका लागि सबै प्रदेशका ७ वटा हिरासत र १४ वटा जेलको अवस्थाबारे स्थलगत अध्ययन गरेर हिरासत र जेल सुधारका लागि सरकारलाई आवश्यक निर्देशन दिने समितिको निर्णयमा उल्लेख गरिएको छ ।

बैठकमा समितिका सदस्यहरुले एनसेल प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति पनि सार्वजनिक रुपमा टिकाटिप्पणी हुन लागेकाले यस सम्बन्धमा समितिमा छलफल गर्न पाउनुपर्ने माग गरेका थिए । काँग्रेस सांसद मिन विश्वकर्माले पूर्व न्यायाधिशहरुले समेत सर्वोच्च अदालतको सो फैसलामाथि टिप्पणी गरेपछि त्यस सम्बन्धमा संसदीय समितिमा छलफल गर्न पाउनुपर्ने माग गर्नु भयो ।

काँग्रेसकै अर्का सांसद संजय गौतमले हिरासतमा ३५ जना बन्दीहरुलाई एउटै काठामा कोचेर राख्ने काम गरिएको तथ्य बाहिर आएको उल्लेख गर्दै त्यसको स्थलगत अध्ययन गर्नुपर्ने माग गर्नु भएको थियो । उहाँले मानव अधिकारको क्षेत्रमा उठेका प्रश्नको निरुपण गर्ने काममा पनि संसदीय समितिले चासो लिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले अदालतका विचाराधिन मुद्दामाथि प्रभाव पार्ने काम भने संसदीय समितिले पनि गर्न नमिल्ने धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?