पाँच दिने विदेश बसाइपछि काठमाडौंका मेयर शाक्य स्वदेश फिर्ता

काठमाडौं । फिनल्याण्डमा आयोजना भएको टुरिजम सम्मेलनमा भाग लिएर काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य शनिबार स्वदेश फर्किनुभएको छ । भदौ १६ गतेदेखि १८ गते सम्म भएको सम्मेलनमा भाग लिएर मेयर शाक्यसहित र उपप्रमुख हरिप्रभा खड्गी पनि स्वदेश फर्कनुभएको छ ।

बल्र्ड टुरिजम सिटिज फेडेरेसन र सिटिज अफ हेल्सिङ्कि फिनल्याण्डको संयुक्त आयोजना सम्पन्न सम्मेलनमा भाग लिन भदौ १६ गते उहाँहरु फिनल्याण्ड प्रस्थान गर्नुभएको थियो । ‘स्मार्ट टुरिजम—रोड टु सिटि इनोभेसन एण्ड डिभलपमेन्ट’ बिषय केन्द्रीत सम्मेलनमा भाग लिन ८० भन्दा बढी संस्थागत प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनबाट फर्किएर त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बिशिष्ट कक्षमा कुरा गर्दै प्रमुख शाक्यले — सम्मेलनमा आफूले इन्द्रजात्राको महत्वलाई प्रस्तुत गर्दै जात्रालाई अन्तरराष्ट्रियकरण गर्ने र नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धनमा गर्ने बिषयलाई जोड दिएको बताउनुभयो । पर्यटनलाई उद्योगका रुपमा सञ्चालन गर्न कार्यपत्र प्रस्तुति, समूहगत छलफल, बिषयगत मञ्च सञ्चालन, अनुसन्धानमुलक परिणाम सार्वजनिक, ट्रेड फेयर, प्रदर्शनीलगायतका सत्र सञ्चालन गरिएको जानकारी दिँदै मेयर शाक्यले — काठमाडौंका सांस्कृतिक तथा प्राकृतिक र पुरातात्विक सम्पदालाई पर्यटन उद्योगका रुपमा रुपान्तरण गर्न आफू उत्साहित भएको बताउनुभयो । यसबाट सम्पदाको संरक्षण हुन्छ । स्थानीयबासीको आयमा सुधार हुन्छ । समग्रतामा देशकै अर्थतन्त्रमा योगदान पु¥याउँछ, उहाँको भनाइ थियो ।

मेयर शाक्यले सम्मेलनमा ‘कल्चरल हेरिटेज एण्ड क्रिएटिभ इण्डष्ट्रि’ बिषयक प्यानल डिस्कसनमा प्यानलिष्टका रुपमा काठमाडौंको सांस्कृतिक महत्व, स्थानीय रहनसहन, जात्रापर्व तथा संस्कार र जीबन्त चालचलनका बिषयमा धारणा राख्नुभएको थियो । त्यस प्यानलमा अन्य नगर र क्षेत्रका ६ जना क्षेत्रगत प्यानलिष्ट हुनुहुन्थ्यो । सम्मेलनमा क्यापिटल युनिभर्सिटी अफ इकोनोमिक्स बिजनेसका प्राध्यापक एवम बिश्व सहरी पर्यटन बिज्ञ डा. लि. युङ्पेङ्गले ‘स्मार्ट सहरी पर्यटन प्रतिवेदन’ का आधारमा कार्यकारी सारांश प्रस्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा बिश्व सहरी पर्यटन बिकास प्रतिवेदन, बिश्वव्यापी स्मार्ट पर्यटकीय सहर लगायतका दस्तावेजन सार्वजनिक गरिएका थिए । सम्मेलनमा दिगो घुमफिरका लागि प्रबिधिजन्य आबिष्कार, पर्यटन बृद्धिका लागि सञ्जालीकरण, चलाखीपूर्ण सिटी टुरिजममा मार्केटिङ्, पर्यटनका बिद्यमान अभ्यास र आगामी दृष्टिकोण, सहरहरुलाई बहुआयामिक र स्मार्ट पर्यटनका लागि दृष्टिकोण लगायत बिषयमा कार्यपत्र प्रस्तुति तथा समूहगत छलफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?